आज राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

होमल्याण्ड खबर

२०७६ बैशाख २० गते, शुक्रबार १०:२२ मा प्रकाशित

सरकारले आर्थिक वर्ष २०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम आज शुक्रबार संघीय संसद्मा सार्वजनिक गर्ने भएको छ । बजेटपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्पराअनुसार सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्था छ ।

यो वर्ष बजेट पूर्वको छलफल अघि नै नीति तथा कार्यक्रम पेस हुन लागेको हो । नीति तथा कार्यक्रम अनुमोदन भएपछि मात्र बजेट पूर्वको छलफल हुनेछ ।

बजेट पूर्वको छलफलअघि नै नीति तथा कार्यक्रम ल्याइन लागेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने असन्तुष्टि जनाएको छ ।

नीति तथा पेस भएपछि छलफल हुनेछ । बढीमा तीन दिनसम्म छलफल चलाउने तयारी गरिएको छ ।

छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अनुमोदनको प्रक्रिया सुरु हुनेछ । नीति तथा कार्यक्रम पेसका लागि संघीय संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।

यो वर्ष पनि सरकारले प्रदेश र स्थानीय तहले सम्पन्न गर्नुपर्ने आयोजनाको वित्तीय सुनिश्चिततासहित सम्बन्धित तहलाई थप हस्तान्तरण गर्ने नीति लिएको छ । चालु वर्षदेखि पहिलोपटक यस्ता आयोजना क्रमशः हस्तान्तरण गर्दै लैजाने नीति लिएको थियो ।