फोरमसँगको एकता बाध्यताः डा.बाबुराम भट्टराई

होमल्याण्ड खबर

२०७६ बैशाख २६ गते, बिहीबार १६:५५ मा प्रकाशित

समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले तत्कालीन संघीय समाजवादी फोरमसँगको एकता बाध्यताको उपज भएको बताएका छन्।

पार्टी एकताप्रति असन्तुष्ट बनेका पूर्वमन्त्री कल्पना धमला, रामरिझन यादव,पूर्वसांसद ज्ञानेन्द्र कुमाललगायतका नेताहरूले बिहिबार बुझाएको ज्ञापनपत्र बुझ्दै डा.भट्टराइले संघीय समाजवादी फोरमसँगको एकता गर्नु बाध्यता भएको बताएका छन् ।

तत्कालीन परिस्थितिमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताको महशुस गरेर नयाँ शक्ति नेपालको स्थापना गरिएकोमा अहिले आएर फोरमसँग पार्टी विलय गरिँदा आमकार्यकर्ताको मनोबल खस्केको भन्दै साविक नयाँ शक्ति केन्द्रीय समितिका सदस्यहरुले असन्तुष्टि राख्दै आएका छन्।

नयाँ शक्ति नेपालका असन्तुष्ट समूहले पार्टीको नाम, झन्डा र नेतृत्वलगायतका विषयमा केन्द्रीय समितिमा छलफल नै नगरी हतार हतारमा फोरमसमक्ष एकता गरेको आरोप लगाएका छन्।

वैकल्पिक राजनीतिको धारलाई अझ बलियो र सशक्त बनाउनको लागि नै पार्टी एकीकरण गर्नुपरेको कुरा डा. भट्टरार्इले नेताहरुलाई भनेको भेटमा सहभागी नेता नारायण तिवारीले बताएका छन् ।