चेल्सी र आर्सनल युरोपा लिगको फाईनलमा

होमल्याण्ड खबर

२०७६ बैशाख २७ गते, शुक्रबार ०९:५५ मा प्रकाशित

आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै चेल्सी र आर्सनल युरोपा लिगको फाइनलमा पुगेका छन् ।

बिहीबार राति भएको खेलमा चेल्सी जर्मन क्लब फ्रांकफर्टलाई टाइब्रेकरमा चार तीन गोलले हराउँदै र आर्सनल स्पेनिस क्लब भ्यालेन्सियालाई समग्रमा ७–३ले हराउँदै फाइनलमा पुगेका हुन् ।

चेल्सी र फ्रांकफर्टको सेमिफाइनलको दोस्रो लेग निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपनि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । लोफटस चेकले २८ औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा फ्रांकफर्टका जोभिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पहिलो लेगको खेल समेत १–१ गोलको बराबरीमा सकिएको थियो ।

अन्तिममा चेल्सीले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्यो ।

अर्को खेलमा आर्सनलले भ्यालेन्सियालाई दोस्रो लेगको खेलमा ४–२ ले हरायो ।

खेलमा अग्रता भ्यालेन्सियाले ११ औं मिनेटमा गेमिरोको गोलबाट लिएको थियो । आर्सनलका अबुमियाङले खेलको १७ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । लाकाजेट्टीले ५९ औ मिनेटमा आर्सनललाई अग्रता दिलाए । भ्यालेन्सियाका गेमिरोले ५८ औं मिनेटमा खेल बराबरीमा ल्याए ।

तर ६९ औं मिनेटमा दोस्रो गोल र ८८ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै अबुमियाङले आर्सनललाई सहजै जित दिलाए ।

युरोपा लिगको फाइनल खेल अजरबैजानको बाकुमा २९ मे मा हुनेछ ।