जनकपुरमा आज जानकी नवमी पर्व मनाइँदैः राष्ट्रपति भण्डारी सहभागी हुने

होमल्याण्ड खबर

२०७६ बैशाख ३० गते, सोमबार ०८:२१ मा प्रकाशित

जनकपुरमा आज जानकी नवमी पर्व मनाइँदै छ।

मिथिलाको भुमिमा राजा जनकले हलो चलाउँदा सीताको जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ।

जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने महोत्सवको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ ।

धुमधामका साथ मनाइँने महोत्सवको पहिलो दिन आज राम कथा प्रवचन, नवाह रामायण पाठ र साँझ मंगलगानको कार्यक्रम रहेको छ।

तीन वर्षअघिदेखि जानकी नवमीलाई भव्यताका साथ मनाउन थालिएको उक्त महोत्सवमा वैष्णव राम कथाको लागि वृन्दावन उत्तर प्रदेश भारतका वालव्यास सन्त हरिशरण उपाध्यायलाई बोलाइएको छ।

सीताको जन्मदेखि न्वारन सम्मको सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै मनाउने गरिन्छ।

जानकी मन्दिरले १५ दिने जानकी नवमी महामहोत्सव मनाउँदै आएकोमा प्रदेश–२ सरकारले आज सार्वजनिक विदासमेत दिएको छ। महोत्सव जेष्ठ ४ गते सम्म चल्नेछ।