अब हामीलाई कसैले हराउन सक्दैनः अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७६ जेष्ठ ३ गते, शुक्रबार ११:३१ मा प्रकाशित

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब दुनियाँको कुनै पनि ताकतले आफूहरुलाई हराउन नसक्ने बताएका छन् ।

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औं स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित समारोहमा बोल्दै प्रचण्डले भने, ‘अब अर्को धातुले बनेका मान्छे रहेछन् भन्ने देखाउँदै छौं। दुनियाको कुनै पनि तागतले हामीलाई हराउँने छैन।’

संगठनलाई मजबुत बनाई जनताको चाहनाअनुसार काम गर्ने दाहालको भनाइ छ । ‘लामो समयपछि जनताले स्थिर सरकार पाएका छन्’, उनले भने, ‘यो सरकारले जनताको चाहनाअनुसार नै काम गरिरहेको छ ।

स्व. मदन भण्डारीले थालेको आन्दोलनलाई थप उचाइमा पुर्‍याउन सिंगो पार्टी नै लाग्ने उनको भनाइ छ। प्राप्त उपलब्धिलाई सम्मान गर्दै युग सुहाउँदो विचार अघि सार्नुपर्ने उनले बताए ।

दाहालले विगतका उपलब्धि संस्थागत गर्दै नयाँ ढंगले पार्टी एकता गरेको बताए। ‘विचारलाई दम्भका रूपमा लिएको भए एकता हुने नै थिएनु, उनले भने, ‘हामीले अन्धो भएर एकता गरेका होइनौं । हामी नयाँ प्रक्रियामा जाँदैछौं ।’

उनले कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने क्रियाकलाप आफूहरुले देखेको तर आफ्ना कार्यकर्ताको त्याग र तपस्याको परिणामले त्यो अर्थपूर्ण भएको बताए ।

उनले पार्टी एकताको प्रसंग जोड्दै भने,‘ पार्टी एकता तीन महिनाभित्र गर्ने भनेको ढिलो भयो। एक वर्ष भयो । तर अब केही मात्रै काम बाँकी छन् । आत्तिनुपर्ने छैन ।’

दाहालले केही दिनभित्रै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताए ।