उपत्यकामा यसकारण ह्वात्तै बढ्यो तरकारीको भाउ

होमल्याण्ड खबर

२०७६ जेष्ठ ५ गते, आईतवार १२:३० मा प्रकाशित

काठमाडौँ उपत्यकामा तरकारीको भाउ एक्कासी बढेको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गरे पनि यसपटक भने बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । 

महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । यसवर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेको छ । ‘यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी राम्ररी लाउन पाएनन् । त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको छ,’ तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे भन्छन ‘भारतबाट आयात हुने तरकारी पनि मूल्य बढेर आएको छ ।’

काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय ५० टनसम्म तरकारी भित्रिने गर्छ । तर, पछिल्लो सातामा दैनिक ६ सय टनसम्म मात्र आयात भइरहेको घिमिरेले बताए । ‘एकातिर उत्पादन घट्यो, अर्कोतिर आयात हुने तरकारीको भाउ नै बढेर आएको छ, त्यसकारण पनि भाउ बढेको हो ।’

सबैभन्दा बढी गोलभेडाको भाउ आकासिएको छ । एक महिनाअघि प्रतिकिलो ५५ रुपैयाँमा पाइने गोलभेडा कालिमाटी बजारमै प्रतिकिलो एक सय १० रुपैयाँमा बिक्री हुन थालेको छ । साना बजार र किराना पसलमा एक सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

स्थानीय काउलीको भाउ कालिमाटी बजारमै प्रतिकिलो ८५ रुपैयाँ पुगेको छ । एक महिनाअघि काउलीको मुल्य ५५ रुपैयाँ थियो । भेन्टा, मटरकोसा, हरियो फर्सी, साग, निउरो, ब्रोकाउली, धनियाँलगायतका ताजा तरकारी तथा फलफूलको भाउ ह्वात्तै बढेको छ ।