भ्रष्टाचार गरेको प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न तयार छुः निर्देशक घिसिङ

होमल्याण्ड खबर

२०७६ जेष्ठ ७ गते, मंगलवार १५:४७ मा प्रकाशित

नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताएका छन् ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले लगाएको आरोप प्रमाणित भए आफू जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताएका हुन् ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उधोगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले त्यो आरोप प्रमाणित भए आफू कारवाही भोग्न तयार रहेको बताएका हुन् ।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले भने, ‘मैले कुनै भ्रष्टाचार गरेको प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न तयार छु, (छानबिन) सम्बन्धित निकायले गर्ला ।
उनले भने, ‘सांसद भए भन्दैमा अनावश्यक चार्ज नगर्नुहोला, सबैकुरा छानबिन भएको छ, सम्बन्धित निकायले छानबिन गरेको छ ।’
घिसिङले सांसद भएको आधारमा जे पनि आरोप लगाउन नपाइने बताएका छन् ।