पुरानै सोचले समृद्ध नेपाल बन्न सम्भव छैनः पूर्वअर्थमन्त्री पाण्डे

होमल्याण्ड खबर

२०७६ जेष्ठ ९ गते, बिहीबार १०:३० मा प्रकाशित

पूर्वअर्थमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले नेपालमा जग्गाको मुल्यमा नियमन नगर्ने हो भने देश औधोगिकरण र विकासको दिशामा अगाडि बढ्न नसक्ने बताएका छन् ।

‘नेपालमा कायम रहेको भूमिव्यवस्थाले कृषि, उधोग, जलविधुत वा ठूला होटलहरू वन्ने सम्भावना कम छ, अव भूमिको वर्गिकरण गरि नयाँ व्यवस्था कायम नगरेसम्म पुरानै योजना र सोचले समृद्ध नेपाल बन्न सम्भव छैन’ पाण्डेले भने ।

राजधानीमा आयोजित एक कार्यक्रममा पाण्डेले आर्थिक विकासमा सरकार र निजी क्षेत्र एउटै रथको दुई पाङग्राजस्तै भएको बताए । आर्थिक समृद्धि अर्थ मन्त्रालयको मात्र चासोको विषयजस्तो यदाकदा लिने गरिएको देखिएको वताउँदै उनले गृह प्रशासन र प्रहरी मात्र सुध्रिए पनि नेपालको आर्थिक विकासमा सकारात्मक सुधार आउने तर्क गरे ।

कार्यक्रममा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोईरालाले पछिल्ला वर्षहरूको ६–७ प्रतिशतको आर्थिक वृद्धि सन्तोषजनक रहेपनि आगामी केहि वर्ष त्यहि वृद्धिदर कायम गर्नु अहिलेको चुनौती रहेको बताए ।
आगामी बजेट धेरैतिर नछरी आर्थिक वृद्धि कायम गर्ने विषयमा केन्द्रित हुनुपर्ने उनको सुझाव छ । विशेषगरी पूर्वाधार र त्यसमा पनि सडकमा नै केन्द्रित हुनुपर्ने कोईरालालले तर्क छ ।