१३ मंसिर २०८१, बिहीबार
आगामी शनिबार वाईडबडी भ्रष्टाचारबारे सार्वजनिक सुनुवाई हुँदैछ ।
नेपालका लागि नेपालीले नेपाल वायुसेवा निगमको हाई फ्लाई–एक्स आईरल्याण्ड लिमिटेडबाट दुई वटा एयरवस ए ३३०–२०० खरिद गर्ने सम्बन्धमा भ्रष्टाचार गरेको विषयमा यही जेठ ११ गते दिउँसो १२ बजे काठमाडौंको वसन्तपुर डवलीमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको हो।
वाईडबडी भ्रष्टाचार छानबिनका लागि नागरिक आयोगले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । अभियानका अभियन्ता डा. सुरेन्द्र भण्डारीले उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा आम–नागरिक, विषयका विज्ञ र सम्पूर्ण पत्रकारहरुलाई सहभागी भईदिन आग्रह गरे ।
अभियानद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘उक्त वाईडबडी भ्रष्टाचार विषयमा जानकारी राख्ने आम नागरिकहरुले आफूलाई जानकारी भएको विषय र धारणा राखिदिन हुन अनुरोध गरेका छौं ।’ त्यस्तै अभियानले विषयविज्ञले भ्रष्टाचारको विवरणसहित सार्वजनिक गरिदिन र सर्वसाधरणलाई सुचित गरिदिनुको साथै आम–पत्रकारले पनि सो भ्रष्टाचारको सम्बन्धमा लेखिएका दस्तावेज, लेखहरुलाई समेत लिई उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भई आ–आफ्नो धारणा राखिदिनको लागि आव्हान गरेको छ ।
कार्यक्रममा वाईडबडी भ्रष्टाचार छानबिनका लागि नागरिक आयोगका संयोजक सुकदेव भट्टराईले वाईडबडी भ्रष्टाचारबारे संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नहुने शंका व्यक्त गरे । उनले भने,‘प्रधानमन्त्रीलाई यो काण्डमा मन्त्री संलग्न छैनन् भन्ने अधिकार छैन् ।’
उनले सबै राजनीतिज्ञहरुको सम्पत्ति शुद्धिकरण गर्नुपर्ने धारणा राखे । उनले भने,‘नेपाली जनता भ्रष्टाचार निर्मुल गर्न चाहन्छन्।’ उनले भ्रष्टाचारले मुलुकलाई समाप्त पार्न लागेको खतरा औंल्याए ।
त्यस्तै, कार्यक्रममा आयोगका सदस्य डा. ठाकुरमोहन श्रेष्ठले वाईडबडी भ्रष्टाचार काण्डमा आफूहरुले सत्य, तथ्य बाहिर ल्याएरै छोड्ने प्रतिबद्धता जनाए । उनले भने,‘हामीले धेरै अनुशन्धान गरि सकेका छौं । सबै खाले दस्तावेजहरुको अध्ययन गरेका छौं । विशेज्ञहरुको पनि राय लिएका छौं । चाँडै नै प्रतिवेदन सार्वजनिक गर्नेछौं ।’ गहन अध्ययन र विश्लेषणका आधारमा प्रतिवेदन बाहिर ल्याउन लागेको उनको दाबी छ ।
नेपालका लागि नेपाली अभियानका अभियन्ता बालकृष्ण न्यौपानेले वाईडबडी भ्रष्टाचारबारे जनतालाई सत्य कुरा थाहा दिलाउने बताए । कार्यक्रममा आयोगकी सदस्य सचिव रोशा श्रेष्ठले वाईडबडी भ्रष्टाचारबारे चौतर्फी रुपमा आवाज उठाउन आग्रह गरिन् । उनले भनिन्,‘सरकारले आम नागरिकको आँखामा छारो हाल्ने काम गरेको छ ।’