विस्फोटबाट मृत्यु हुनेहरु सामान्य नागरिक होइनन्ः गृहमन्त्री थापा

होमल्याण्ड खबर

२०७६ जेष्ठ १३ गते, सोमबार १२:३६ मा प्रकाशित

आइतबार राजधानीमा भएका विस्फोटबाट मृत्यु हुनेहरु सामान्य नागरिक नभएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले विस्फोटमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताहरुमात्र मारिएको बताएका छन् । आइतबार सुकेधारा र घट्टेकुलोमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको थियो।

हिजोमात्र उपत्यकामा ठाउँठाउँमा भएका विस्फोटहरुमा चार जनाको मृत्यु भएको थियो । जति मान्छेको मृत्यु भएका तथा घाइते भएकाहरु छ ती सबै समूहसँग सम्बन्धित व्यक्ति भएको गृहमन्त्री थापाको भनाई छ।

मन्त्री थापाले विप्लव समूहले समानान्तर सरकार गठन गरेको बताउँदै जनसरकारको नाममा जनपरिषद् पनि गठन गरेको र जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेको संसदमा बताएका छन् ।

मन्त्री थापाले विप्लव समूहले आज गरेको नेपाल बन्द नागरिक स्तरबाट असफल पारिदिएको दाबीसमेत संसदमा गरेका छन् ।

साथै उनले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको भन्दै समूहलाई नियन्त्रण गर्ने र मूलधारमा ल्याउन सरकार प्रतिवद्धसमेत रहेको उनले बताएका छन् ।