विश्वकप क्रिकेट आजबाट, उदघाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

होमल्याण्ड खबर

२०७६ जेष्ठ १६ गते, बिहीबार ०९:४८ मा प्रकाशित

विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज बिहिबारबाट सुरु हुँदैछ ।

इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपको उद्घाटन खेल आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ ।

लण्डनस्थित दि ओभलमा बिहिबार अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ ।

आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिका दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

४६ दिनसम्म चल्ने प्रतियोगितामा ४८ खेल हुनेछन्  ।

पहिलो चरण राउन्ड रोबिन आधारमा सन्चालन हुनेछ । प्रत्येक टोलीले हरेकसँग एक–एक पटक खेलिसकेपछि शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनल पुग्नेछन् । पहिलो र चौथो स्थान तथा दोस्रो र तेस्रो स्थानका टोलीबीच सेमिफाइनल प्रतिस्पर्धा हुने छ ।

इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।

दक्षिण अफ्रिका टिम

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, डेल स्टेयन, लुन्गी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।