नराम्रो काम गर्नेलाई हटाएर नयाँ मन्त्री ल्याउने ओलीको तयारी छः सांसद बस्नेत

होमल्याण्ड खबर

२०७६ जेष्ठ २९ गते, बुधबार ११:११ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले मन्त्रीमण्डल पूर्नगठन हुने संकेत गरेका छन् । मंगलबार एक टेलिभिजनको कार्यक्रममा बोल्दै सांसद बस्नेतले यस्तो खुलासा गरेका हुन् ।

उनले भने, ‘राम्रो काम गर्ने मन्त्रीहरुलाई यथावत राख्ने र नराम्रो काम गर्नेलाई हटाएर नयाँ मन्त्री ल्याउने ओलीको तयारी छ।’

त्यस्तै, बस्नेतले पार्टीको आगामी महाधिवेशनअघि मतदानबाट नेतृत्वको टुँगो नलाग्ने पनि दाबी गरे । उनले आलोपालो प्रधानमन्त्री चलाउने विषयमा पनि केही दिनमात्रै चर्चा भएको र स्वयम प्रचण्डले त्यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेर द्विविधा प्रष्ट्याएको दाबी गरे ।

‘प्रधानमन्त्रीको युरोप भ्रमणपछि र बजेट पास भएपछि मन्त्रीमण्डल पूर्नगठन हुन्छ । प्रधानमन्त्रीले सबैको काम हेरिरहनु भएको छ ।’ साथै उनले घुमाउरो पारामा आफुले पहिला मन्त्री हुँदा राम्रो काम गरेको भन्दै अब फेरी मन्त्री बन्नसक्ने समेत खुलासा गरे ।