हृदयाघातका कारण पूर्वसांसद्को निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

होमल्याण्ड खबर

२०७६ जेष्ठ ३१ गते, शुक्रबार १३:३७ मा प्रकाशित

प्रतिनिधिसभाको शुक्रबार बिहानका लागि तय बैठक स्थगित भएको छ । पूर्व सांसद् एवं नेकपा नेता धनीराम पौडेलको शुक्रबार बिहान निधन भएपछि शुक्रबारको बैठक स्थगित भएको हो । |

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो ।
 
अस्पतालका चिकित्सकले निधन भएको जानकारी दिएका हुन् । पौडेल संविधानसभाको सदस्य हुनुहुन्थ्यो । पार्टीका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत हुनुहुन्थ्यो । पौडेल लेखक एवं पूर्वपत्रकार पनि हुनुहुन्छ । उहाँकी श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँका दुई छोरी छन् ।
 
पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपाका नेताहरु आउने कार्यक्रम रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिनुभयो । उहाँको शव बघौडा अस्पतालमा रहेको छ ।