बाबुराम–गगन जुहारी जारीः ‘जनयुद्धले मार्न नसकेको बीपीको विचार राप्रपाले अपहरण गर्न सक्दैन’

होमल्याण्ड खबर

२०७६ असार १० गते, मंगलवार १५:४९ मा प्रकाशित

समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र कांग्रेसका केन्द्रीय नेता गगन थापाबीच ट्वीटरमै जुहारी चलेको छ ।

जेठ ३ गते पोखरामा भएको सपा नेपालको एक कार्यक्रममा बाबुराम भट्टराईले ‘कांग्रेसको युग सकियो। प्रजातन्त्र स्थापनामा उसको ठूलो भूमिका रह्यो। अब कांग्रेसलाई सम्मान गरेर म्युजियममा राख्नुपर्छ। देशमा समृद्धि र विकास गर्नका लागि समाजवादी पार्टी आएको छ।’भनेर भनेका थिए ।

तर पछिल्लो समयमा बाबुरामले कांग्रेसविरुद्ध अभिव्यक्ति दिएपछि कांग्रेसका केन्द्रीय नेताहरुले मुख नखोलेको समयमा गगन थापाले गोरखाको पालुङटार पुगेर ‘कांग्रेसकै भोट पाएर चुनाव जितेकाले कांग्रेसलाई नै संग्रहालयमा राख्नुपर्छ भन्ने बाबुराम भट्टराईलाई आउने चुनावमा हिसाबकिताब गरिन्छ।

साथै केन्द्रीय सदस्य थापाले ‘बाबुरामजत्तिको नेता संसदमा चाहिन्छ भनेर नेता कार्यकर्ताहरुले हात जोडेर मत मागियो। तर उहाँले सबै कुरा भुलेर कांग्रेसलाई गाली गर्दै हिँड्नुभयो। चुनावमा भएको त्यो भुलको प्रायश्चित गर्दै कांग्रेसले क्षमापूजा गर्छ’ भनेका थिए ।

गगन थापाको आलोचनाको जवाफमा शनिबार भट्टराईले कांग्रेसलाई आग्रह गर्दै ट्वीट गरे।

‘बीपीलाई अब राप्रपाले अपहरण गरेछ । बीपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो । बीपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरू हो,पहिले अपहरित बीपीको रक्षा त गर,बाबुरामको क्षमापूजा पछि गरौला । हामी साथदिन तयार छौं ।’

मंगलबार थापाले ट्वीट गर्दै भट्टराईलाई ‘बीपीलाई अब राप्रपाले अपहरण गरेछ । पहिले अपहरित बीपीको रक्षा गर, डाक्टर साब, चिन्ता नगर्नूस् । बीपीको विचार कांग्रेसको आत्मा हो । जसरी हिजो त्यसलाई तपाईंको जनसरकारको हत्या र हिंसाले समाप्त पार्न सकेन, आज पनि राप्रपाले अपहरण गर्न सक्दैन ।’ प्रति उत्तर दिएका थिए ।

गत निर्वाचनमा बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टी नेपाल र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएर रसुवामा नयाँ शक्तिले कांग्रेस र गोरखा २ मा कांग्रेसले बाबुरामलाई सिट छाडिदिएको थियो ।

पछिल्लो समय नेपाली राजनीतिमा पनि ट्वीटर मार्फत् समर्थन आलोचना गर्ने संस्कार बसेको छ । भारत लगायत अन्य विश्वका मुलुकमा पनि नेताहरुले ट्वीटर राजनीति गरिरहेका हुन्छन् ।