गुटबन्दीले पार्टी बलियो हुन सक्दैनः भीष्मराज आङदम्बे

होमल्याण्ड खबर

२०७६ असार १८ गते, बुधबार १३:०५ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले कांग्रेस पार्टीभित्रको गुटबन्दीले नेता र कार्यकर्तालाई विभाजित गरेको भन्दै यस्तै अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज आयोजना गरेको नेपाली कांग्रेसका पूर्वसभापति एबं शान्ति प्रकृयाका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा आयोजित बिचार गोष्ठीमा बोल्दै आङदम्बेले कांग्रेस आफैभित्र रहेको कलहबाट बाहिर निस्केर बदलिनु र सुध्रिनु पर्ने बेला आएको र कांग्रेसले जनतालाई विश्वास र भरोसा दिलाउनु पर्ने बताए ।

पार्टी संगठनलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिँदै उनले नेता तथा कार्यकर्ता अनुशासित भई कांग्रेसलाई एकतावद्ध बनाएर अघि बढे मुलुकको ठूलो दल बन्ने दाबी गरे । त्यसका लागि कांग्रेसभित्रको गुट–उपगुट अन्त्य हुनुपर्नेमा उनको जोड थियो ।

केन्द्रीय अनुशासन समितिका संयोजक समेत रहेका नेता आङदम्बेले कांग्रेसले प्रजातन्त्रको व्यावहारिक कार्यान्वयन नगरेको देखेर नै गत निर्वाचनमा जनताले कम्युनिष्टलाई जिताएको बताए । उनले स्व.कोइराला शान्ति र क्रान्तिका नायक रहेको चर्चासमेत गरे ।

जनताले सत्तामा पठाएको नेकपा नेतृत्वको सरकारले जनताको चाहना अनुरुप काम गर्नुपर्ने र उनीहरुको पक्षमा काम नगरे दबाब सृजना गर्नुपर्ने उनको भनाइइ छ । सरकारलाई खाली सस्ता प्रहसन र खोक्रा भाषण नगर्नसमेत उनले सचेत गराए ।

नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गर्दै अहिले पनि मुलुक र कांगे्रसका लागि शान्ति, सहकार्य र एकताको खाँचो रहेको बताए ।

कार्यक्रममा कांग्रेस भक्तपुरका पूर्वसभापति तिलक कायस्थ, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, पार्टी सचिव निशान ढुंगेल, क्षेत्र नम्बर १ का सभापति जीवन खत्री, २ का सभापति नारायण खायमलीलगायतले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले गरेका योगदानको चर्चा गर्दै पार्टी एक ढिक्का भएर सरकारका गलत कृयाकलापको प्रतिरोध गर्न सक्नुपर्नेमा जोड दिए ।