१ मंसिर २०८१, शनिबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ प्रवेश गर्ने भएका छन्। सांसद मनाङे बिहीबार नेमपा प्रवेश गर्ने भएका हुन्। गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराउने भएका छन् ।
मनाङे अहिले संसदमा नेकपालाई समर्थन जनाउँदै सत्ता पक्षकै रोमा बस्दै आएका छन् । चुनावताका उनी नेकपाबाटै (तत्कालीन वाम गठबन्धन) उम्मेदवार बनेका थिए । तर, विवादमा परेपछि नेकपाले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता लिएपनि नेकपाले अर्को उम्मेदवार भने खडा गरेको थिएन् ।
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे नेकपाकै सहयोगमा विजयी भएका थिए । तर, ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परेका उनी फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् ।
उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।