खानेपानी आयात गरिनु नौलो कुरा होइनः मन्त्री मगर

होमल्याण्ड खबर

२०७६ असार २० गते, शुक्रबार १२:५५ मा प्रकाशित

खानेपानी मन्त्रालयले नेपालको खानेपानी कतारलगायत विदेशी मुलुकमा पठाउने तयारी गरिरहेका बेला मन्त्री बिना मगरले विदेशबाट खानेपानी आयात गरिने बताएकी छन् । शुक्रबार राष्ट्रियसभामा बोल्दै मन्त्री मगरले नेपाल विश्वमा जलस्रोतको दोस्रो धनी देश भए पनि विदेशबाट खानेपानी आयात गरिनु कुनै अनौठो कुरा नरहेको बताइन् ।

“नेपाल विश्वमा जलस्रोतको दोस्रो धनी देश हो । अहिले सुपरमार्केट र बजारहरुमा विदेशी खानेपानी आयो भनेर धेरैले नोटिस गर्नुभएको छ । यो नराम्रो कुरा होइन,” मन्त्री मगरले भनिन्, “विदेशी बजारमा रहेका पानीलाई नियन्त्रण गर्ने, रोक्ने भन्ने हुँदैन ।”

नेपाली बजारमा विदेशी खानेपानी देख्दा आश्चर्य मान्न नहुने पनि मन्त्री मगरले बताएकी छन् । ०७५ चैत २६ गते मङ्गलबार दिउँसो खानेपानी मन्त्री मगरले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपालको खानेपानी कतार निर्यात गर्ने विषयमा नेपालका लागि कतारी राजदूत बिन मोहम्मद अल हेलसँग छलफल गरेकी थिइन् ।

तर राष्ट्रिय सभामा भने मन्त्री मगरले विदेशबाट खानेपानी आयात गरिने कुरालाई जोड दिएकी छन् । खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, खानेपानी मन्त्रालय र विभागबाट प्रतिनिधित्व हुने गरी विज्ञ टोली गठनको तयारी भइरहेको समेत बताएका थिए ।

एक हप्ताभित्रै टोली गठन गरेर खानेपानीका मुहान खोजेर, प्रशोधन गरेर खानेपानी कतारलगायत मुलुक निर्यात गर्न मन्त्रालय लागि परेको मन्त्रालयका सह–सचिव तथा प्रवक्ता शङ्करप्रसाद सुवेदीले बाह्रखरीसँग भनेका थिए ।

शुक्रबारको राष्ट्रियसभा बैठकमा मन्त्री मगरले एक घर एक धारा र एक घर एक शौचालय निर्माणमा संघको मात्रै भर नपर्न प्रदेश र स्थानीय तहलाई अपील गरेकी छन् । “यो सरकारको लक्ष्य हो । त्यसैले यसमा संघको मात्र भर नपर्न प्रदेश र स्थानीय तहलाई म अपील गर्दछु,” उनले भनिन् ।