१ मंसिर २०८१, शनिबार
पछिल्लो समय नेपाली राजनीतिमा पार्टी छाड्ने र प्रवेश गर्नेको लामो फेहरिस्त देखिन्छ ।
सात्तारुढ दल हुन् या प्रतिपक्षका साना/ठूला दल सबैमा आन्तरिक खिचातानी र भूमिका विहिन बनेका नेता-कार्यकर्तामा यस्तो प्रवृति देखिएको हो ।
पार्टी छाड्ने र प्रवेश गर्ने क्रममा शुक्रबारमात्रै पूर्व नयाँ शक्ति पार्टीका नेता-कार्यकर्ता सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् ।
तत्कालिन संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै नेताहरु धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रमबीच प्रवेश गरे।
प्रवेश गर्नेमा पूर्वमन्त्री कल्पना धमलासहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता रहेका छन् ।
उनीहरुलाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा पार्टी प्रवेश गराइएको थियो ।
यसै बिषयलाई लिएर संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कटाक्ष समेत गरेका छन् ।
उनले ट्विटरमा ट्विट गर्दै ‘डनहरु, व्यपारीहरु, क्रान्तिबाट थाकेकाहरु सत्ताधारी पार्टी पसेर रस चुस्ने होडवाजी गर्दैछन् ! सपाबाट नेकपा पस्न लागेका केहीले यता घुर्काएर पद लिने र उता अध्यक्षद्वयसँग अलग–अलग बार्गेनिङ गरेर राम्रै लाभ लिन लागेछन् ! भलो होस् !’ भन्दै कटाक्ष गरेका थिए ।