१० मंसिर २०८१, सोमबार
मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई हराएको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा आज भएको खेलमा नेपालले सिंगापुरलाई २१७ रनले हराएको हो ।
नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ ओभर २ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो ।
सिंगापुरका लागि हरी कुकरेजाले ३०, कन्नुस्वामी सतिशले २४, चन्द्रमाउली श्रीदेबले २३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३२६ रन बनायो ।
नेपालका लागि ऋत गौतमले अविजित ११५, खडक बोहोराले ९०, कुशल मल्लले अविजित ५१ र पवन सर्राफले ४५ रन बनाए ।
सिंगापुरका लागि प्रणव सुदर्शन राजेश कृष्णन र भिनित चितेस मेहेताले समान २/२ विकेट लिए ।
समूह ए बाट नेपाल समूह विजेता र सिंगापुर समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।