आईसीसीद्वारा जिम्बावे क्रिकेट बोर्ड निलम्बन, अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्न नपाउने

होमल्याण्ड खबर

२०७६ श्रावण ३ गते, शुक्रबार ११:४० मा प्रकाशित

एजेन्सी, जिम्बावे क्रिकेट बोर्ड निलम्बन भएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट मान्यता पाएको राष्ट्र जिम्बावे क्रिकेट बोर्डलाई सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेको हो ।

सरकारी हस्तक्षेप बढेको भन्दै आइसीसीले जिम्बावेसहित क्रोएसिया र जाम्बियालाई  पनि निलम्बन गर्ने निर्णय गरेको हो ।

आइसीसीले निलम्बनसँगै सबै अनुदान समेत रोक्का गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत खेल्न नपाउने जनाएको छ ।

निलम्बनमा परेपछि अब जिम्बावेले अक्टोबर-नोभेम्बरमा यूएईमा हुने टी २० विश्वकपको ग्लोवल छनोट खेल्न पाउने सम्भावना अत्यन्तै न्यून रहेको छ ।

आइसीसीले जिम्बावे क्रिकेट बोर्डलाई ३ महिनाभित्र यस मुद्दालाई समाधान गर्न अल्टिमेटम समेत दिएको छ । जिम्बावेले उपयुक्त कदम चालेमा आगमी अक्टोबरमा हुने बैठकमा कारबाही पुनरावलोकन गर्न सकिने आइसीसीले जनाएको छ ।

आइसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ । मापदण्ड नपुगेको भन्द मोरक्कोको क्रिकेट बोर्डलाई निष्काशन गरेको छ ।

लण्डनमा भएको बैठकमा निलम्बनमै रहेको नेपाल क्रिकेट संघबारे भने कुनै छलफल भएन । सरकारी हस्तक्षेप बढेको भन्दै २०७३ साल वैशाख १३ मा क्यान निलम्बनमा परेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन ।

निलम्बनमा रहे पनि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भने खेलिरहेको छ ।

जिम्बावेले अब २०२० को जनवरी ५ मा भारतसँग टि–ट्वान्टी अन्तरराष्ट्रिय सिरिज खेल्दैछ । जिम्बावेले भर्खरै मात्र आयरल्यान्डसँग एकदिवसीय र टि–ट्वान्टी सिरिज खेलेको थियो । बिहिबार बसेको आईसीसीको बोर्ड बैठकले जिम्बावेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।