१० मंसिर २०८१, सोमबार
आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ ।
मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, कम्रान खानले २२, जाहिर इब्राहिमले १२ र मुहमद तानभिरले ११ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट र करण केसीले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।
नेपालका लागि युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए । यस्तै, कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३, सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन बनाए ।
कतारका इकबाल हुसेनले ३, तमोर साजाद र नुमान सर्वारले २/२ तथा इनवाल हसनले १ विकेट लिए ।
अब नेपालले दोस्रो खेलमा मलेसियासँग बुधबार खेल्नेछ । त्यस्तै कुवेतसँग शनिबार र नेपालले आइतबार सिंगापुरसँग खेल्नेछ ।