ग्लोबल टि–ट्वान्टी क्रिकेट : आत्तिए सोमपाल, सन्दीपको पनि खराब प्रदर्शन

होमल्याण्ड खबर

२०७६ श्रावण १९ गते, आईतवार १३:५३ मा प्रकाशित

क्यानडामा जारी ग्लोबल टि–ट्वान्टी क्रिकेट लिगमा यतिबेला नेपाली क्रिकेट टिमका सदस्य सोमपाल कामी र सन्दीप लामिछाने खेलिरहेका छन् ।

सोमपाल पहिलोपटक विदेशी लिग खेलेका हुन् भने सन्दीपले गत संस्करण पनि यो लिग खेलेका थिए । 

जारी लिगमा दुबै खेलाडीले खराब प्रदर्शन गरेका छन् । डेब्यू खेलमा राम्रो प्रदर्शनको अपेक्षा गरेका सोमपालका लागि बिर्सनलायक रह्यो । सन्दीपले भलै १ विकेट लिए पनि शानदार बलिङ गर्न भने सकेनन् । विनीपेग होक्समा आवद्ध सोमपालले एडमोन्टन रोयल्सविरुद्ध खेल्दै विदेशी लिगमा डेब्यु गरे । न त बलिङ न ब्याटिङ दुबैमा चुके सोमपाल । 

२ ओभर बलिङ गरेका सोमपालले ३३ रन खर्चिए । १० ओभरमा बलिङको अवसर पाएका उनले ३ बल वाइड फालेका थिए । ब्याटिङतर्फ भने ५ बलमा १ रन जोड्दै अविजित रहे । डेब्यू खेलमा खराब प्रदर्शनपछि सोमपालको अर्को खेलमा अवसर पाउने सम्भावना कम छ ।  उक्त खेलमा उनको टोली विनीपेग होक्स रोयल्ससँग ८ विकेटले पराजित भयो । 

यस संस्करणमा टोरन्टो नेशनल्समा आवद्ध सन्दीपले पनि ब्राम्पटन बुल्भसँग आफनो पहिलो खेल खेल्दा सम्झनलायक प्रदर्शन गर्न सकेनन् । ४ ओभर बलिङ गरेका सन्दीपले १ विकेट लिएर ४४ रन खर्चिए । भारतीय क्रिकेटर युवराज सिँहको कप्तानीमा रहेको टोरन्टो बुल्भसँग ११ रनले पराजित भयो ।  पराजित भएपछि सोमपाल आबद्ध होक्स अंकतालिकाको चौथो स्थानमा छ । ५ खेलमा २ मा जित र ३ मा हार बेहोरेको होक्सको ४ अंक छ  । सन्दीपको टोरन्टो ४ खेलबाट २ अंक जोड्दै पाचौं स्थानमा छ । 

सन्दीप र सोमपाल सिंगापुरमा भएको आईसीसी टि–ट्वान्टी एशिया छनोटपछि क्यानडा पुगेका हुन् ।