राष्ट्रिय परिचयपत्र वितरण तत्काल स्थगित गर्न सरकारसँग कांग्रेसको माग

होमल्याण्ड खबर

२०७६ श्रावण २४ गते, शुक्रबार १६:४३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राष्ट्रिय परिचयपत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेका छन् । सांसदहरु दिलेन्द्रप्रसाद बडु, अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भइरहेकै बेला सो परिचयपत्र विवरणको कामलाई जारी राखेकोमा आपत्ति जनाउँदै तत्काल स्थगित गर्न सरकारसँग माग गरेका हुन् । 

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै सांसद बडुले कानुन निर्माणको पाटोमा संसदीय समितिमा छलफल भइरहेकै बेला सो परिचय पत्र वितरण गरेर सरकारले गल्ती गरेको दावी गर्दै तत्काल स्थगित गर्न माग गरे । उनले राष्ट्रिय परिचय पत्र छपाई पनि सार्वजनिक खरिद ऐन र प्रचलित कानुन विपरीत रहेको दाबी गर्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारलाई सचेत गराए । 

नुन विपरीत राष्ट्रिय परिचय पत्र विवरणको कामलाई सरकारले जारी राखेकोमा आपत्ति जनाए । उनले कानुन नै नबनाई कसरी राष्ट्रिय परिचय पत्र विवरण गरियो भनेर सरकारलाई प्रश्न पनि गरे । 

सांसद देवेन्द्रराज कँडेलले गृह मन्त्रालयले नागरिकता वितरणको काम र राष्ट्रिय परिचय पत्र वितरणको काममा ‘केटाकेटीपन’ देखाएको उल्लेख गर्दै आपत्ति जनाए । उनले समितिमा विचाराधिन नागरिकता विधेयक र राष्ट्रिय परिचय पत्र विधेयक पारित गरेपछि राष्ट्रिय परिचय पत्र वितरणको कामलाई अघि बढाउन पनि सरकारलाई आग्रह गरे । 

बैठकमा समितिका सदस्यहरुले हालसम्म वितरण गरिएको राष्ट्रिय परिचय पत्रको कानुनी आधार बलियो नभएकाले यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराएका थिए ।