१० मंसिर २०८१, सोमबार
भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले आज मंगलबार बंगलादेशसँग खेल्दैछ ।
भारतको कल्याणीमा नेपालले तेस्रो खेलको रुपमा बंगलादेशसँग दिउसो सवा ३ बजे खेल्न लागेको हो ।
बंगलादेश र नेपालको खेल दुबै टिमका लागि निकै महत्वपुर्ण रहेको छ । आज बंगलादेश नेपाल विरुद्ध विजयी भएमा फाइनलमा स्थान बनाउने छ । यदि नेपाल विजयी भएमा फाइनलमा पुग्ने टिमको होडवाजी खुल्ला हुनेछ ।
२ खेलबाट ३ अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ भने ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । शीर्ष स्थानको भारतको पनि ६ अंक रहेको छ ।
पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो ।
यता बंगलादेशले भुटानलाई ५–२ र श्रीलंकालाई ७–१ले हराएको थियो ।
नेपालले बंगलादेशपछि अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ ।
प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।