एटीएम ह्याकिङबाट ३ करोड ५८ लाख चोरियो : राष्ट्र बैंक छानबिन प्रतिवेदन

होमल्याण्ड खबर

२०७६ भाद्र १९ गते, बिहीबार १६:५७ मा प्रकाशित

एटीएम ह्याकिङ प्रकरणको जाँचबुझका लागि राष्ट्र बैंकले बनाएको समितिले प्रतिवेदनले चिनियाँ ह्याकरहरुबाट विभिन्न बैंकका ३ करोड ५८ लाख रुपैयाँ चोरी भएको उल्लेख गरेको छ ।

यसअघि १ करोड ६८ लाख रुपैयाँ मात्र चोरी भएको दाबी गरिएको थियो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वको छानविन समितिले बुझाएको प्रतिवेदनमा प्रतिवेदन बुझाउदै ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबरको रकम झिकिएको उल्लेख गरेको छ ।

यसअघि सोही समूहले भारतबाट एक करोड ७० लाख रुपैयाँ निकालेको प्रतिवेदनमा जनाइएको छ । भिजा इन्टरनेशनलसँग आबद्ध नेप्सका सदस्य बैंकहरुको डेबिट कार्ड प्रयोग गरी रकम चिनिया ह्याकरले रकम निकालेका थिए । १७ बैंकका ६८ एटिएम कार्डहरुबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उनका अनुसार ६ वटा नेपाली वाणिज्य बैंकहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका २४ बैंकका १३२ एटिएमबाट १ करोड ५ लाख ८७ हजार २ सय भारतीय रुपैयाँ निकालिएको पुष्टि भएको छ ।

घटनाहरुको विज्ञद्वारा सुक्ष्म अध्ययन तथा विश्लेषण गर्नुपर्ने, कार्डसँग सम्बन्धित नेटवर्क र सिस्टमको सुपरिवेक्षण नियमित रुपमा गर्नुपर्ने समितिको सुझाव छ ।

प्रहरीले गत शनिबार मध्यराति चलाएको अपरेशनबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि बरामद गरेको थियो ।

चिनियाँ नागरिक झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङले सुटकेश र झोलामा बोकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो भने सु लुसलीलाई विमानस्थलबाट पक्राउ गरियो । यस्तै रकम साट्ने ठमेलको डेक्सो मनी एक्सचेन्जका सञ्चालक सञ्चालक देवनाथ लामिछाने, नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पनि पक्राउ गरिएको छ ।