चाडपर्वलाई लक्षितगरेर सहुलियत पसल आजदेखि संचालन

होमल्याण्ड खबर

२०७६ भाद्र २३ गते, सोमबार ११:१५ मा प्रकाशित

सरकारले आजबाट दसैं–तिहार र छठ पर्वलाई लक्षित गरेर देशभर ७३ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै छ ।

निम्न वर्गलाई लक्षित गरेर विभिन्न उपभोग्य वस्तुमा छुट अफरसहित सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको संख्या, स्थान र छुटको टुंगो लगाएको हो ।

विगत वर्षहरुमा जस्तै यस वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको सुपथ मूल्य पसल कात्तिक १६ गतेसम्म सञ्चालनमा आउनेछन् ।

अन्तर्गतका सेवाप्रदायक संस्था साल्ट ट्रेडिङ नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ र दुग्ध विकास संस्थानले आजबाट राजधानीका विभिन्न क्षेत्रमा सहुलियत दरका सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउँदै छन् ।

सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ । त्यस्तै, च्यांग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ ।

डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ भने चिनीमा प्रतिकिलो ५ रुपैयाँ सहुलियत दिने तयारी छ ।

वाणिज्य मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले ती पसलहरु सञ्चालन गर्ने छन्, जसमध्ये काठमाडौंमा ३ वटा घुम्ती पसल हुने छन् । वाणिज्य विभागका अनुसार साल्ट ट्रेडिङले देशभर ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने छ ।

उपत्यकामा कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायत ९ ठाउँमा सहुलियत पसल हुनेछन् । त्यसैगरी, साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्ने छ भने उपत्यका बाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहान लगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने विभागले जनाएको छ ।

यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकामा ५ र उपत्यकाबाहिर १८ वटा पसल सञ्चालन गर्नेछन् । दुग्ध विकास संस्थानले उपत्यकामा ४ र उपत्यकाबाहिर ११ वटा ठाउँमा सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ ।

रामशाह पथ सिहंदरबारको पहिलो एकीकृत सहुलियत पसलको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गर्नेछन् ।