बहुमतको सरकार भए पनि हामी वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छौंः ‘प्रचण्ड’

होमल्याण्ड खबर

२०७६ भाद्र २३ गते, सोमबार १२:१३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपालाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

आज पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा अध्यक्ष ‘प्रचण्ड’ले नेकपालाई सबैले स्वीकार गर्ने पार्टी बनाउनुपर्ने बताएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै उनले भने “हामीले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएका छौँ, लोकप्रिय मत पाएका छौँ, बहुमतको सरकार छ, तर वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छौँ, जनताको आवश्यकताभन्दा पनि हाम्रो आवश्यकतालाई महत्व दिएका छौं।

साथै अध्यक्ष ‘प्रचण्ड’ले पार्टीलाई जनतामा समर्पित गर्न सकेको खण्डमा मात्र शहीदकोे वास्तविक सपनामा पूरा हुने बताए ।

सो कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता प्रक्रिया जतिसक्दो चाँडो सक्ने तयारी भइरहेको बताउँदै शहीदको सपना पूरा गर्न नयाँ सङ्कल्पसहित अगाडि बढ्ने बताए ।