१५ मंसिर २०८१, शनिबार
रुपन्देहीको तिलोत्तमामा आज लगानी सम्मेलन सुरु भएको छ । काठमाडौं बाहिर पहिलोपटक आयोजित लगानी सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरेका छन् । प्रचण्डले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताएका छन् ।
‘लगानीको निम्ति भौगोलिक र अन्य सबै हिसाबले पनि वातावरण बनेको छ, उनले भने, ‘लगानी भित्राएर मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक कार्यभार हामीमाझ आएको छ, यसलाई हामीले उचित ढंगले काम गर्नसक्नुपर्छ ।’
स्वदेशी तथा विदेशी लगानीलाई तिलोत्तमामा आकर्षित गर्ने उद्देश्यले लगानी सम्मेलनको आयोजना गरिएको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए ।
आज एक दिन मात्रै चल्ने लगानी सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री, राजनितिक दलका नेताहरु, विभिन्न प्रदेशका मुख्यमन्त्री, विभागीय मन्त्रीहरु, उच्चपदस्थ सरकारी अधिकारीहरु, राष्ट्र बैंकका गभर्नर, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, डिएफआइडीका प्रतिनिधि, चिनियाँ प्रतिनिधिलगायत स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको सहभागिता रहेको छ ।
करिब ५० अर्ब लगानी भित्र्याउने लक्ष्यसहित २२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पाँच सय जना लगानीकर्ता सहभागी छन् ।