यू–१८ साफ च्याम्पियनसिप: उपाधिका लागि आज भारत र बंगलादेश भिड्दै

होमल्याण्ड खबर

२०७६ आश्विन १२ गते, आईतवार १०:१० मा प्रकाशित

नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज आइतबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल काठमाडौंको हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनल खेलमा भारतले माल्दिभ्सलाई ४–० र बंगलादेशले भुटानलाई ४–० ले हराएका थिए ।

दुवै टिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछन् । भारत सन् २०१५ मा भएको पहिलो संस्करणको उपविजेता हो भने बंगलादेश दुई वर्षअघि भएको दोस्रो संस्करणको उपविजेता हो ।

अघिल्ला दुई संस्करणको उपाधि भने नेपालले जितेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

फाइनलअघि बिहान साढे १० बजेदेखि एन्फा कम्प्लेक्स मैदानमा हुने तेस्रो स्थानको प्लेअफ खेलमा भुटान र माल्दिभ्स खेल्दैछन् ।