नेता नेपालको ‘नोट अफ डिसेन्ट’ सामान्य र स्वभाविक होः अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७६ कार्तिक १९ गते, मंगलवार १२:२७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा सामान्य र स्वाभाविक प्रक्रिया भएको बताएका छन् ।

पार्टी कार्यक्रममा सहभागी हुन आज बाँके पुगेका प्रचण्डले सोमबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नातर्फबाट प्रदेश प्रमुखका लागि नाम प्रस्ताव गरे पनि नपरेपछि नोट अफ डिसेन्ट लेख्नु सामान्य र स्वभाविक नै भएको बताएका हुन् ।

प्रचण्डले भने, ‘माधवजीले एक–दुई जनाको नाम पक्कै पनि प्रस्ताव गर्नुभएको थियो । जोड दिनुभएको थियो यो गरौं भन्ने खालले । तर, बैठकले त्यो निर्णय गरेन, यो निर्णय गर्‍यो ।

नेता नेपालले फरक मत राखे पनि पार्टीको निर्णय मान्दिनँ नभनेको प्रचण्डले बताए । ‘उहाँलाई चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य कुरा नै हो, स्वाभाविक प्रक्रिया हो । उहाँले मान्दिनँ भन्नु भएको छैन, मेरो भिन्न मत राख्छु भनेर भन्नुभा’छ,’ प्रचण्डले भने ।

सोमबारको सचिवालय बैठकमा नेता नेपालले प्रदेश प्रमुख छान्दा एकलौटी निर्णय भएको र मापदण्ड नपुगेकालाई सिफारिस गरिएको भन्दै नोट अफ डिसेन्ट लेखेका थिए ।

प्रदेश प्रमुख निकालेर नयाँ नियुक्त गर्न पार्टीभित्र र सत्तारुढ समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि आफूले छलफल गरेको प्रचण्डले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रदेश प्रमुखले सरकारको प्रतिनिधिका रुपमा काम गर्ने भएकोले सरकार परिवर्तनसँगै प्रदेश प्रमुखले राजीनामा दिएर सजिलो पार्ने प्रचलन दुनियामा रहेको बताए ।

तीन वर्ष कार्यकाल बाँकी रहँदै प्रदेश प्रमुखहरु हटाएको भनेर कतिपयले सरकारको आलोचना गरिरहेका बेला प्रचण्डले भने नेकपा नेतृत्वको सरकार उदार भएकाले अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताए ।