भारतले नेपाली भूभाग आफ्नो तर्फ देखाएको विरोधमा भक्तपुरमा निस्कियो विरोध र्‍याली

होमल्याण्ड खबर

२०७६ कार्तिक २० गते, बुधबार १३:२० मा प्रकाशित

भारतले नयाँ नक्सामा नेपाली भूभागलाई आफ्नो तर्फ देखाएको विरोधमा आज भक्तपुरमा नेपाल मजदुर किसान पार्टीले विरोध र्‍याली निकालेको छ ।

लामो समयदेखि नेपाली भूमिकाबारे बिवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो देशमा भएको नक्शामा राखेपछि यसको बिरोध स्वरुप नेमकिपाले विरोध र्‍याली निकालेको हो ।

भक्तपुरको कमलबिनायकबाट सुरु भएको र्‍याली भक्तपुर नगरको विभिन्न स्थान परिक्रमा गरि सुर्यबिनायक चोकमा आएर बिरोधसभामा परिणत भएको थियो ।

र्‍यालीपछि भएको बिरोधसभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले दुई तिहाईको सरकारले सिमा अतिक्रण गरि जारी गरेको नक्शाका बारे चासो मात्र नभई बिरोध गर्दै अन्तर्रातिष्ट्रय मञ्चलाई घच्च घचाउनु पर्नेमा जोड दिए ।

नेपाली शासक नेताहरु आफ्नो भूमि अतिक्रमण हुँदा मौन रहुनु रहस्यमय बनेको केन्द्रीय सचिव सुवालको आरोप छ ।

जम्मु कस्मीरमा बिवाद जारी रहँदा र भारतको हस्तक्षेप बारे नेपाली नेताहरुले बोल्न नसक्नु र संयुक्त राष्टसंघमा भएको सभामा नेपाली पक्षले सिमा बिवादबारे बिषय उठान गर्न नसक्नुको परिणम आज भारतले गरेको सिमा मिचाइ भएको उनले बताए ।

नेपाली सिमा अतिक्रमण गरि जारी गरिएको नक्शा नसच्चाएसम्म सडक र सदनमा बिरोध जारी राख्ने सुवालले बताए ।