९ मंसिर २०८१, आईतवार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल बैंकर संघका पदाधिकारीबीच मन्त्रालयमा छलफल भएको छ । बिहीबार मन्त्री विष्टले सरकारले थप गरेको समय भित्रै सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन बैंकरहरुलाई छलफलमा बोलाएका हुन् । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने विषय केन्द्रित छलफलमा मन्त्री विष्टले सरकारले थप गरेको समय भित्रै सबै बैंक तथा बैंकहरुमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा सुचीकृत हुन आग्रह गरेका छन् । संविधानले गरेको व्यवस्था र सरकारले संसदबाट पारित गरेको कार्यक्रममा बैंक तथा वित्तिय क्षेत्र समयसिमा भित्रै सहज सहभागी हुने अपेक्षा राखे । उनले भने,‘सामाजिक सुरक्षा कोष नेपालमा नौलो कार्यक्रम भएकाले बुझाइमा अस्पष्टता भएको हुनसक्छ यद्यपी आम श्रमिकको जीवनलाई सुरक्षा दिने ऐतिहासिक कार्यक्रमको शुरुवात गरिएको हो ।’
कोषका सन्दर्भमा देखिएका अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई सम्बोधन गर्न सरकार सधै तयार रहेको मन्त्री विष्टले बताए । उनले विभिन्न क्षेत्रबाट आएका गुनासालाई सम्बोधन गर्दै कार्यक्रमलाई परिमार्जित, समय सान्दर्भिक तथा वैज्ञानिक बनाउदै लगिने बताए । संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानासहितको पदाधिकारी टोलीलेसामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरे ।