११ मंसिर २०८१, मंगलवार
बंगलादेशमा हुन लागेको पहिलो संस्करणको एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको खेल तालिका परिवर्तन भएको छ ।
शनिबारदेखि आयोजना हुन लागेको पहिलो संस्करणको च्याम्पियनसिपको खेल तालिका आयोजक बंगलादेश भलिबल फेडेरेसनले बिहीबार परिवर्तन गरेको हो ।
च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, अफगानिस्तान, माल्दिभ्स र किर्गिस्तानको सहभागिता रहेको छ ।
परिवर्तित तालिका अनुसार नेपालले अब पहिलो खेलमा अफगानिस्तानसँग आइतबार नेपाली समयअनुसार मध्यान्ह १२ः४५ बजे खेल्नेछ । यसअघिको तालिकामा नेपालले पहिलो खेलमा माल्दिभ्ससँग खेल्ने तय भएको थियो ।
परिवर्तित तालिका अनुसार नेपालले दोस्रो खेल ११ नोभेम्वरमा किर्गिस्तानसँग, १२ नोभेम्वरमा आयोजक बंगलादेशसँग र १३ नोभेम्वरमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ ।
प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल हुनेछ । पहिलो खेलमा किर्गिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि उद्घाटन सत्र र अफगानिस्तान र आयोजक बंगलादेशबीच खेल हुनेछ ।