२ मंसिर २०८१, आईतवार
मंसिर १४ मा हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ प्रदेशसभा १ (क) का लागि उम्मेदवारी दिएका २ जना उम्मेदवारको उम्मेदवारी बदर भएको छ ।
२०७४ सालको निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीबाट उनीहरुको नाम अझै नहटाएकाले उनीहरुको उम्मेदवारी बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले भक्तपुरले जनाएको छ ।
यसरी उम्मेदवारी बदर हुनेमा आमुल परिवर्तन पार्टीका उम्मेदवार डिल्ली चौलागाई र राप्रपा संयुक्तका रामशरण लामिछाने रहेका छन् ।
मुख्य निर्वाचनको कार्यालय भक्तपुरमा बिहीबार राजनीतिक दलका ११ र स्वतन्त्रबाट १० जना गरी २१ जनाले उम्मेदवारी दिएका थिए । अब दुइृ जनाको उम्मेदवारी बदर भएपछि १९ जनाको मात्र उम्मेदवारी परेको छ ।
उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा( बाट देवीप्रसाद ढकाल (डीपी), नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल, नेपाल मजदुर किसान पार्टीबाट निरज लवजुले उम्मेदवारी दर्ता गरेका छन् ।
यसैगरी, राप्रपाबाट श्यामप्रसाद नेपाल, समाजवादी पार्टीबाट सुदर्शन मुनंकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, साझा पार्टीबाट सुरज प्रधान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङमार लामा, नेपाली कांग्रेस बीपीबाट मधुसूदन न्यौपानेले उम्मेदवारी दिएका छन् ।
स्वतन्त्रबाट कृष्णप्रसाद ह्योंगो, जीवन नेपाली, कृष्णराम पोटामाहा, अर्जुन कोजु, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, जीवनचन्द्र अधिकारी, संगीता पौडेल आचार्य, सुजता देउजाले उम्मेदवारी दिएका छन् ।
यो प्रदेशमा चाँगुनारायण नगरपालिकाको ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० पर्छ । यस क्षेत्रका ४५ हजार १५ मतदाताले प्रदेशसभा उपनिर्वाचनमा मतदान गर्नेछन् ।
तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानेको हृदयघातबाट निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।