२ मंसिर २०८१, आईतवार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भारतबाट मिचिएका क्षेत्रमा पहिले भारतसँगै वार्ता गर्नु उपयुक्त हुने बताएका छन् ।
सोमबार संघीय संसदको राज्य व्यवस्था समितिको बेठकमा उपस्थित भएका प्रचण्डले भारतसँग गम्भीर वार्ता गर्दा पनि समाधान नभए मात्रै उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।
‘कालापानी, लिपुलेकको विषयलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने भनेर नभनौं,’ प्रचण्डले भने, ‘यदि भारतसँग गम्भीर वार्ता गर्दा पनि समाधान निस्किएन भने मात्रै पछि हेरौंला ।’
बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेदका आधारमा लिम्पियाधुरा पूर्वको क्षेत्र नेपाल र पश्चिमको क्षेत्र भारतको रहेकोमा कुनै अन्योल नरहेको बताए । महाकाली नदीको मुहान लिम्पियाधुरा भएको र त्यसको पूर्व नेपाल तथा पश्चिमतर्फको भाग भारतको भएको प्रचण्डले बताए । प्रचण्डले विगतमा स्थिर सरकार नभएका कारण पनि यसमा विवाद भएको बताए ।
प्रचण्डले भने, ‘विगतमा स्थिर प्रकारको सरकार नभएका कारण यो विषयमा समस्या भएको थियो । हामी नेपालको एक इञ्च पनि जमिन छाड्दैनौं र अर्काको भूमि पनि लिँदैनौं ।’