निराश जनतालाई उत्साहित बनाउन काङ्ग्रेसले जित्नुपर्छ : नेता रिजाल

होमल्याण्ड खबर

२०७६ कार्तिक २६ गते, मंगलवार १४:३४ मा प्रकाशित

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताउनुभएको छ ।

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा भन्नुभयो, “सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्, उनीहरुलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्न सक्नुपर्छ ।”

नेता रिजालले सरकार लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै कर्मठ र त्यागी नेता खेमराज पौडेललाई पार्टीले कास्की क्षेत्र नं २ मा उम्मेदवार बनाएको बताउनुभयो ।  उहाँले देश र समाजप्रतिको त्याग, बलिदान एवं निष्ठाका पक्षमा मतदान गर्न मतदातालाई आग्रह पनि गर्नुभयो ।

काङ्ग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, विकृति र विसङ्गति रोक्न र सरकारलाई सही बाटामा हिँडाउन यस चुनावमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो ।घरदैलो कार्यक्रममा काङ्ग्रेस नेता डा रिजाल, उम्मेदवार पौडेल, कास्की काङ्ग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार मूल समितिका संयोजक कृष्ण केसीलगायत नेता तथा कार्यकर्ता सहभागी छन् ।