९ मंसिर २०८१, आईतवार
समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चैत २३ गते भारत भ्रमण गएका प्रधानमन्त्री केपी ओली आइतबार साँझ स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमै सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो भ्रमण सफल भएको बताएका छन् । उनले भने, ‘मेले केही भनिरहनै पर्दैन, तस्बिर आफैँ बोल्छ, कसैले बिगारेन भने नेपाल–भारत सम्बन्ध सधैँका लागि सुधारिएको छ । हामी सम्बन्ध बिगार्न चाहँदैनौं । कयौ कुराहरु लिखित मै आइसकेका छन् । नआएका कुराहरु अनावश्यक रुपमा उछाल्न हुँदैन । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण कुनै बनावटी होइन र देखावटी नभएको दाबी गर्दै भने, ‘एक मित्रको निमन्त्रणामा लोकतान्त्रिक प्रणाली र जनमत लिएर गएको हो । भारतले स्वागत गर्यो ।’
उनले भारतसँग भएको सहमति बारे भने, ‘काठमाडौं रेल आउने कुरा भएको छ । नदीबाट आवागमनको प्रबन्ध मिलाउँदै छौं । सीमा विवाद लगायतका विषयमा गम्भीर कुरा भएको छ । कृषिको आधूनिकीकरणको विषयमा समेत कुरा भएको बताएका छन् ।’ आफूले मित्रता खुलस्त, खुलापन, पारस्पिरिक सम्बन्ध, सर्वभौमिता, दुवै देशको हित र पारस्पिरिक लाभको आधारमा हुने पनि भारतीय पक्षसँग खुलस्त राखेको ओलीले दाबी गरे । ओलीले भने, ‘न्यायोचित बाहेक अरु ढंगबाट सञ्चालन गर्न खोजे यो राम्रो हुँदैन । मैले मोदीजीलाई पनि यही कुरा राखें ।’
एक्काइसौं शताब्दीमा छिमेकी मुलुक र अन्य विश्वसँग कसरी सम्बन्ध राख्ने भनेर प्रष्टसँग राखेको पनि ओलीले बताए । उनले भूकम्पपछिको पुननिर्माणको लागि भारतीय प्रतिवद्धता, पञ्चेश्वर जस्ता परियोजना अघि बढाउने विषयमा पनि भारतीय पक्षसँग छलफल गरिएको जानकारी दिएका छन् । विगतका परियोजना अघि बढाउन सरकारले अव भारतसँग गम्भिर वार्ता गर्दै अघि बढाउने प्रधानमन्त्री ओलीको योजना छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकीको उदघाटन गरिएको थियो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा स्विच थिचेर उदघाटन गरेका थिए । त्यसैगरी मोतिहारी अमलेखगञ्जसम्मको पेट्रोलियम पाईपलाईन विस्तारको पनि उद्घाटन गरिएको छ । भारत भ्रमणकै अवसरमा प्रधानमन्त्री ओलीलाई गोविन्द बल्लभ पन्त कृषि एवम प्रोद्योगिक विश्वविद्यालयले विद्यावारिधिको उपाधि समेत प्रदान गरेको थियो । भारत बसाईका क्रममा प्रधानमन्त्री ओलीले भारतीय उद्योगीहरुसँग सामूहिक छलफल गरी नेपालमा लगानी भित्र्याउन पनि आग्रह गरेको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रहँदा समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, व्यापारी र विभिन्न राजनीतिक दलक नेतासँग भेटघाट गरेका थिए ।