२५ फाल्गुन २०८२, सोमबार
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्न सुझाव दिनुभएको छ । नेपाल प्रेस युनियन झापा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सीमा विवाद सचिवस्तरको बैठकबाट नटुङ्गिने भएकाले प्रधानमन्त्री स्वयंले भारतीय प्रधानमन्त्रीसँग बार्ता गर्नुपर्ने बताएका छन् ।
विवाद समाधानका लागि सरकार अघि बढे त्यसमा सहयोग गर्न प्रतिपक्षी दल काङ्ग्रेससमेत तयार रहेको जानकारी दिँदै नेता पौडेलले आवश्यक प्रमाण नजुटाई हतारमा सीमा विवादको कुरालाई अन्तर्र्रािष्ट्रयकरण नगर्न सुझाव दिए । “छिमेकीको हेपाहा प्रवृत्ति र नेपालको लापरवाहीका कारण सीमा सुरक्षामा प्रश्न उठेको छ”, नेता पौडेलले भने,“अहिले दुईतिहाईको बलियो सरकार छ, कसैले ढाल्छ कि भनेर डराउनुपर्ने अवस्था छैन, यो सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रमा नेपालको भू–भाग जतिका प्रमाण सङ्कलन गरेर सरकार कडा रुपमा प्रस्तुत होस् ।”
नेपाली काङ्ग्रेस झापा शाखाको आयोजनामा आज जिल्ला पार्टी कार्यालयमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी लगायत काङ्ग्रेस नेता डा शेखर कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, सरिता प्रसाईं र बद्रि पाण्डे झापा आएका थिए ।