दोस्रो चरणको विश्वकप छनोटः आज नेपाल र कुवेत भिड्दै

होमल्याण्ड खबर

२०७६ मंसिर ३ गते, मंगलवार ११:०० मा प्रकाशित

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज मंगलबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले पहिलो घरेलु खेलको रुपमा कुवेतसँग भुटानको थिम्पुमा खेल्न लागेको हो ।

भुटानको चाङ्लिमिथाङ मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे हुनेछ ।

नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्युट्रल भेन्युको रुपमा भुटानमा सारिएको हो ।

बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपाली टिम कम्तिमा अंक खोस्ने योजनामा हुनेछ । यस्तै कुवेत पनि नेपालविरुद्ध ३ अंकको लागि मैदान उत्रने योजनामा हुनेछ ।

खेलका लागि भुटान उड्ने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगरसहित मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी नाइट क्लवमा गएको पाइएपछि उनीहरु बर्खास्तमा परेका छन् ।

यस अघि कुवेतसँगको अवे खेलमा नेपालले ७–० को हार व्यहोरेको थियो । तर, भुटानमा नेपाल त्यस हारलाई बिर्साउने प्रदर्शन गर्न चाहन्छ ।

छनोटको समूह ‘बी’मा नेपाल समूहको चौंथो स्थानमा छ । ४ खेलमा कुवेत ७ अंकसहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको अष्ट्रेलियाको १२ अंक छ । तेस्रो स्थानको जोर्डनको पनि ७ अंक, चौथो स्थानको नेपालको ३ र पुछारको चाइनिज ताइपे अंक विहिन छ ।