९ मंसिर २०८१, आईतवार
बैंकमा ऋण लिनुअघि कुन बैंकको आधार दर कति छ जान्नु जरुरि हुन्छ किनकि बैंकले लिने ऋणको व्याज आधार दरमा निर्भर रहन्छ । सामान्यतः जुन बैंकको आधार दर कम हुन्छ, त्यो बैंकको ऋण पनि सस्तो पर्न जान्छ ।
पछिल्लो समय बैंकहरुको आधार दर घट्दै गएको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा २८ वाणिज्य बैंकहरुको औसत आधार दर ९. ५८ प्रतिशत छ । जवकि गत आर्थिक वर्षको यस अवधिमा १०. १४ प्रतिशत थियो ।
आधार दर घट्नुले ऋणको व्याजदर पनि सामान्य घटेको संकेत गर्दछ । यद्यपी आधार दरले मात्रै ऋणको व्याजदर निर्धारण हुने भने होइन । आधार दरमा जोडिने प्रिमियम दर पनि उत्तिकै महत्वपूर्ण हुन्छ । बैंकहरुले ऋणको प्रकृति हेरिकन आधार दरमा निश्चित प्रिमियम दर जोडेर ऋणीलाई व्याजदर तय गरिदिन्छन् ।
त्यसकारण ऋणीले आधार दरमा जोडिने प्रिमियम दर पनि विचार पुर्याउनुपर्छ। यदी दुई बैंकको आधार दर समान ८ प्रतिशत छ भने प्रिमियम दर जुन बैंकले कम लिन्छ, सो बैंकको व्याज सस्तो पर्छ ।
ऋणको प्रयोजन, ग्राहकप्रति बैंकको विश्वास, धितोको मूल्य लगायत पक्षलाई केलाएर बैंकहरुले प्रिमियम दर निर्धारण गर्छन् । पछिल्लो समय राष्ट्र बैंकले कृषि तथा उत्पादनमूलक क्षेत्रमा जाने ऋणमा आधार दरमा बढीमा २ प्रतिशत मात्रै प्रिमियम दर जोड्न पाउने व्यवस्था गरेको छ ।
यो व्यवस्थाअनुसार आधार दर ८ प्रतिशत भएको बैंकले कृषिमा दिने ऋणमा बढीमा १० प्रतिशतसम्म मात्रै व्याज लिन पाउने छन् । तर अन्य व्यवसायिक प्रयोजनका लागि दिइने ऋणमा बैंकहरुले आफै प्रिमियम दर निर्धारण गरेर ऋण दिन्छन् । बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋणको व्याजदर निर्धारण गर्ने गरेका छन् ।
बेलाबेलामा विभिन्न बैंकहरुले घरजग्गा, सवारीसाधन खरिद वा अन्य कुनै व्यवसाय गर्नका लागि सस्तो व्याजको अफर समेत ल्याएका हुन्छन् । ती अफरबाहेक सामान्य अवस्थामा ऋण लिन चाहनेलाई आधार व्याजदर महत्वपूर्ण हुन्छ ।
अर्कोतर्फ सरकारले विभिन्न सात शिर्षकमा सहुलियतपूर्ण व्याजमा ऋण प्रदान गर्दै आएको छ । सरकारले दिने सहुलियतपूर्ण ऋणका लागि पनि आधार दर महत्वपूर्ण हुन्छ । यस्तो सहुलियतपूर्ण ऋणमा आधार दरमा बढीमा २ प्रतिशत जोडेर त्यसमा ५ प्रतिशत घटाई ऋणको व्याज निर्धारण हुन्छ ।
सुरुमा व्याज सस्तो गरे पनि केही महिनामै व्याज बढाउने गरेको गुनासो ऋणीहरुले गर्ने गरेका छन्। यही गुनासोलाई मध्यनजर गर्दै हाल राष्ट्र बैंकले स्थिर दरमा पनि ऋण लिन सक्ने व्यवस्था गरेको छ।
ऋण अवधिभर व्याजदर घटबढ नहुनेगरी ऋणीले बैंकसँग सम्झौता गर्न सक्ने छन् । यसले ऋणीलाई पटक पटक व्याजदर परिवर्तनका कारण पर्न सक्ने अप्ठेरोलाई निराकरण गर्न सक्नेछ। यद्यपी यसको व्याज गतिशीलभन्दा केही बढी हुन सक्ने छ ।
कुन बैंकको आधार दर कति