२५ फाल्गुन २०८२, सोमबार
मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका हुन् । यसले बुधबार मन्त्रिपरिषद् हेरफेर हुने बलियो सम्भावना देखाएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पारेका छन् । उनी ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा छन् ।


प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए । त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल समाजवादी) का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए ।
त्यसपछि उनले आफ्नो अभिव्यक्तिका कारण विवादमा आएका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकाल र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गरेका थिए ।
प्रधानमन्त्री ओलीले कार्यसम्पादन प्रभावकारी देखाउन नसकेका मन्त्रीलाई बिदाइ गरेर नयाँ मन्त्री नियुक्तिको तयारी धेरै अगाडिदेखि गर्दै आएका थिए। तर पछिल्लो पटक आफ्नै सचिवालयका केही सल्लाहकार हेरफेर गरेपछि ओलीले क्याबिनेट हेरफेरको तयारी गरेका हुन् । यस विषयमा उनले नेकपा सचिवालय बैठकबाट समेत सैद्धान्तिक सहमति लिएका थिए। साथै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालसँग पनि परामर्श गरेका थिए ।
नेकपा पार्टी सचिवालय बैठक बुधबार बिहान ९ बजे बालुवाटारमा बस्नेछ। त्यसलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्ने बालुवाटार स्रोतले बतायो। सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र दाहालले त्यसको टुंगो लगाउनेछन् ।
सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थियो । तर प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनगर्ठन रोकिएको थियो ।
को-कोलाई बिदाइ दिने तयारी ?
प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र कृषिमन्त्री चक्रपाणि खनाललाई बिदाइ दिने तयारी छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानीमन्त्री विना मगर, भूमिसुधारमन्त्री पदमा अर्याललाई पनि हटाउन छलफल भएको छ। तर पार्टीभित्र समीकरण मिलाउनुपर्ने भएकाले रहने र फालिने यकिन नभएको स्रोतले जनायो ।
महिलाको ठाउँमा महिला, मधेसीको ठाउँमा मधेसी, जनजातिका ठाउँमा जनजातिलाई नै ल्याउने तयारी प्रधानमन्त्रीको छ । यसका लागि उनले अर्का अध्यक्ष दाहालसँग सहमति लिएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार दिनभर बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए। ओलीले क्याबिनेट हेरफेर गर्दा दोहोरिने केही बहालवाला मन्त्रीहरूको जिम्मेवारीमा समेत हेरफेर गर्न सक्ने स्रोतले बतायो ।
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच फेरि वार्ता हुँदैछ र बुधबार बिहान नेकपा सचिवालय बैठकसमेत बोलाइएको छ । स्रोतकाअनुसार दुई अध्यक्षबीच सहमति जुटेमा दिउँसो २ बजे अगाडि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।