नवनियुक्त स्वास्थ्य मन्त्रीले भने – अहोरात्र खट्न तयार छु, निष्ठा र इमान बन्धक बनाउँदिन

होमल्याण्ड खबर

२०७६ मंसिर ५ गते, बिहीबार १४:५९ मा प्रकाशित

स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएसँगै भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालय पुगेर पदवाहली गरेका छन् । उनले डाक्टरहरु काम गर्ने भएकाले स्वास्थ्य क्षेत्रमा निष्ठा र इमान डगमगिन नदिने बताएका छन् ।

कानुनबाट स्वास्थ्य मन्त्रालयमा सरुवा भएर पदभार ग्रहण गर्ने क्रममा उनले भने, ‘काम गर्दै जनताको मन जित्छु, कामले नै विश्वास लिन्छु। यो ठाउँ निष्ठाको थलो हो । स्वास्थ्यमा काम गर्ने डाक्टरहरु नै निष्ठाका प्रतीक हुन् ।’

उनले यो मन्त्रालयमा काम गर्दा आफूले इमान नबेच्ने पनि बताए। ‘निष्ठा र इमानलाई बन्धक बनाएर काम गर्दिनँ । मन्त्रालयलाई अनिर्णयको बन्दी बनाउँदिन’, उनले भने, ‘यहाँका समस्याको समाधान गर्न तयार छु । यसमा अफ्ठेरो नमानी काम गरौँ, सुखी नेपाली समृद्ध नेपाल नारालाई सफल बनाउनुपर्छ ।’  उनले मन्त्रालयमा भएका समस्या छलफल गरेर नै समाधान गर्ने पनि प्रतिवद्धता जनाए ।

‘समस्यालाई समस्या बनाएर आएमा अल्झाउला तर अहिलेको गतिलाई रोक्दैन’, उनले भने, ‘अहोरात्र खटेर काम गर्नुपर्छ। विज्ञापन र चर्चाबाट मुक्त छु म’, उनले भने, ‘विगतमा पनि राम्रै थियो होला, नराम्रो होला भन्दिनँ। अब मिलेर काम गर्नुपर्छ।’