कानुनमा पदभार सम्हाल्दै उपेन्द्र यादव, प्रधानमन्त्रीले माया गरेको प्रतिक्रिया !

होमल्याण्ड खबर

२०७६ मंसिर ९ गते, सोमबार १५:३५ मा प्रकाशित

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

स्वास्थ्य मन्त्रालयबाट कानूनमा सारिएका यादव जिम्मेवारी हेरफेर भएको पाचौं दिनमा कार्यभार सम्हाल्न मन्त्रालय पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार गरेको मन्त्रिपरिषद् हेरफेरमा समाजवादी पार्टीका एक राज्यमन्त्री हटाउँदै उपेन्द्रको मन्त्रालय हेरफेर गरेका थिए ।

यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकाललाई दिएर उपेन्द्रलाई भानुभक्तले सम्हाल्दै गरेको कानून मन्त्रालयको जिम्मा दिइएको छ ।

सल्लाह नगरी मन्त्रालय फेरबदल गरेको तथा राज्यमन्त्री हटाएको भन्दै समाजवादी पार्टीभित्र सरकारबाट बाहिरिने विषयमा छलफल भएको थियो । कार्यभार सम्हाल्दै यादवले मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको विशेषधिकार भएको बताए ।

उनले आफूलाई प्रधानमन्त्रीले अनुभवी बनाउन खोजेको भन्दै व्यंग्यात्मक प्रतिक्रिया पनि दिए ।‘उहाँले बढी नै माया गर्नुभयो, अनुभवी नेता बनोस् भनेर होला !’ उनले भने ।