प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन नेकपा अध्यक्ष प्रचण्डको आग्रह

होमल्याण्ड खबर

२०७६ मंसिर १० गते, मंगलवार १२:४२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन आग्रह गरेका छन् ।

आज हेटौंडामा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु र नेकपाका नेताहरुसँग कुरा गर्दै उनले अब प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुंग्याउन आग्रह गरेका हुन् ।

प्रदेशसभा र सरकारले छिट्टै टुंग्याउँछ भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए । दाहालले अब नेपालमा तीव्र गतिमा विकास हुने बताए ।

‘अब नेपालमा तीव्र गतिमा विकास हुन्छ । भारत र चीनबीचमा भएकाले हामी हरेक हिसाबले फाइदामा छौं’, उनले भने, ‘यत्रो राजनीतिक सहमति देशमा कहिल्यै भएको थिएन ।

अबको एक दशक विकासमा जोड दियौं भने हामी फड्को मार्छौँ । देशले दोहोरो अंकको आर्थिक वृद्धि हाँसिल गर्न सक्छ ।’

सरकार र नेकपाप्रति आस्था, विश्वास र भरोसा रहेको पनि उनको भनाइ छ ।

‘जनता निराश छैनन् । देशभरि घुम्दा परिवर्तनप्रति भरोसा छ,’ उनले भने, ‘नेतृत्वले ठीक समयमा ठीक गर्‍यो गरेन बरू आत्मसमीक्षा गरेर अघि बढ्दा झन् राम्रो हुन्छ । जनता भनेको त सूक्ष्मदर्शक यन्त्र हो । जनताले सरकारको काम हेरिराखेका हुन्छन् ।’