९ मंसिर २०८१, आईतवार
विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ चोरी गर्ने ६ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तहरुलाई महानगरीय प्रहरी परिशर काठमाडौँले बुधबार पत्रकार सम्मेलन गरे सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रे पाँचखाल घर भई कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अञ्जन बराल, बाग्लुङ जिल्लाको गलकोट घर भई काठमाडौँ १० बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक घर भई काठमाडौँ–३२ सुबिधानगर बस्ने ३० वर्षीय गोबिन्द घिमिरे रहेका छन् । मंसिर ८ गते राति ८ः३० बजे जनता बैंकमा खाता भएका गोपाल राजबाहकले आफ्नो खाताबाट पटक पटक गरी १९ लाख ९ हजार रुपैयाँ निकालेको मोवाइलमा म्यासेज आएको, तर आफूले कुनैपनि चेक कसैलाई नदिएको सूचना प्रहरीलाई दिएका थिए । प्रहरीले राष्ट्र बैंकका उच्च अधिकारीसँग छलफल गरी अनुसन्धान गर्दा राजवाहकलाई दिएको भन्दा अर्कै नयाँ चेकबाट पैसा निकालेको पाइएको प्रहरीले बताएको छ । गत सोमबार पुनः राजबाहकको खाताबाट रकम निकाल्न जनता बैंकको न्यूरोड शाखामा एक व्यक्ति पुगेको सूचना प्राप्त भएपछि ती व्यक्तिलाई तत्काल पक्राउ गरिएको प्रहरी प्रवक्ता होमिन्द बोगटीले बताए ।
सोही दिन विभिन्न स्थानबाट चोरी गिरोहका ६ जना व्यक्तिहरुबाट १८ लाख ५० हजार नगद, विभिन्न बैंकका चेकबुक, खाता खोल्न तयार फर्महरु, एनआईसी बैंकको भिजा कार्ड, विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी, प्रयोग भएका सिग्नेचरका नक्कलहरु बरामद गरेको महानगरीय प्रहरी परिशर काठमाडौँले जनाएको छ । पक्राउ परेका ६ जना अभियुक्तहरुलाई पाटन उच्च अदालतबाट बैंकिङ कसुर सम्बन्धी ७ दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभियुक्तहरुले बैंकमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको सिग्नेचर चोरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिई नयाँ चेकबुक निकाल्ने र सिग्नेचर मिलाई लाखौँ पैसा निकाल्न सफल भएको प्रहरी समक्ष बताएका छन् । ती गिरोहले कयौँ व्यक्तिहरुको नाममा रहेको सयौँ थान सक्कली चेक समेत लिन सफल भएको र सक्कली भिजा कार्ड समेत बनाई प्रयोगमा ल्याएको देखिएकोले सम्बन्धित बैंकका कर्मचारीको मिलेमता तथा लापरवाही देखिएको हुँदा अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
अभियुक्तहरुबाट के के बरामद भए ?