साग भलिबलः आज नेपाली महिला टोली भारतसँग भिड्दै

होमल्याण्ड खबर

२०७६ मंसिर १२ गते, बिहीबार १०:२८ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज बिहिबार भारतसँग खेल्दैछ ।

समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसँग खेल्न लागेको हो ।

यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा बंगलादेशलाई हराएर सेमिफाईनल नजिक पुगेको नेपाली महिला टिमले आज पनि भारतलाई पराजित गरी महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

यसअघि दुवै टोली नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा भिडेका थिए । सो खेलमा भारतले नेपाललाई सहजै हराउँदै उपाधि जितेको थियो ।

यस्तै आजै साँझ ७ बजे पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । पाकिस्तानको महिला टिम भने यस प्रतियोगितामा सहभागी छैन् । जसका कारण माल्दिभ्सले बुधबार वाक ओभर पाउँदै स्पष्ट तीन अंक जोडेको थियो ।

यसैगरी आजै पुरुष तर्फको भलिबलमा पनि दुई खेल हुँदैछ । दिउँसो १ बजे पाकिस्तानले माल्दिभ्ससँग तथा ३ बजे भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन् ।