ए डिभिजन लिगमा आज दुई खेल

होमल्याण्ड खबर

२०७६ पुष ४ गते, शुक्रबार ०८:४४ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिगमा आज शुक्रबार दुई खेल हुँदैछ ।

पहिलो खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अर्को खेलमा ब्रिगेड ब्वाइज क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल च्यासल र मछिन्द्रबीच मध्यान्न १२ बजे शुरु हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

यसअघि साढे १२ बजे हुँदै आएको खेल एन्फाले आधा घण्टा अगाडी सारेको हो । दोस्रो खेलमा ब्रिगेड र फ्रेन्डस दिउँसो ३ बजे दशरथ रंगशालामा भिड्नेछन् ।

लिगको पहिलो चरणमा स्पष्ट जित निकाल्ने टिममा पर्छन्, च्यासल युथ क्लब र मछिन्द्र क्लब । दुबै क्लब लिगका उपाधि दाबेदार पनि हुन् ।

राष्ट्रिय टिमका अधिकांश खेलाडी बोकेका दुवै क्लब दोस्रो चरणमै आमने सामने हुदैछन् ।

राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्वाइजले लिगको दोस्रो खेलमा कुपन्डोलको फ्रेन्ड्स क्लबको सामना गर्दैछ । शुक्रबार दशरथ रंगशालामा फ्रेन्ड्स र ब्रिगेड ब्वाइज भिड्न लागेका हुन् । खेल दिनको ३ बजे शुरु हुनेछ ।

यसअघि पहिलो चरणमा पराजित दुबै टिम अंक जोड्ने प्रयासमा हुनेछन् । यसअघि भएको पहिलो खेलमा ब्रिगेड क्लब मछिन्दसँग २–० गोल अन्तरले पराजित भएको थियो । फ्रेन्ड्स भने त्रिभुवन आर्मीसँग २–१ गोल अन्तरले हारेको थियो ।