पीपीएल क्रिकेटः काठमाडौंलाई हराउँदै चितवन फाइनलमा

होमल्याण्ड खबर

२०७६ पुष ८ गते, मंगलवार १६:४३ मा प्रकाशित

पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोज फाइनलमा प्रवेश गरेको छ ।

पोखरामा आज ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज चितवन फाइनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा चितवनले दिएको लागि १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले ४०, पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन बनाए ।

चितवनका लागि सन्नी पटेलले ३, रोहन मुस्तफाले २ तथा करण केसी, राम नरेश गिरी, भुवन कार्की र पारस खड्काले ११ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

चितवनका लागि बाबर हायतले ७० र रोहन मुस्तफाले अविजित ५९ रन बनाए । यस्तै आरिफ शेख र सन्नी पटेलले १५/१५ रन बनाए ।

काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले १/१ विकेट लिए ।

जितसँगै चितवन पाँच खेलमा अपराजित रहँदै फाइनल पुगेको हो । चितवनले ५ खेलमा १० अंक जोड्न सफल भयो ।

तेस्रो स्थानको काठमाडौंले ५ खेलमा ४ अंक जोडेको छ । काठमाडौंको पनि प्ले अफ सम्भावना कायम रहेको छ । काठमाडौंको प्ले अवको यात्रा बुधबार हुने विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्सबीचको नतिजामा भर पर्ने छ ।