नेकपाद्वारा पार्टी र सरकार विरुद्व भ्रम फैलाउनेलाई कारवाहीको चेतावनी

होमल्याण्ड खबर

२०७६ पुष १५ गते, मंगलवार ११:५९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपा ले पार्टी र सरकार बिरुद्व अनुशासन विपरित प्रचारप्रसार र भ्रम छरे कारवाही गर्ने चेतावनी दिएको छ ।

नेकपा स्थायी कमिटी बैठक राखेर नेकपाले अन्तरपार्टी निर्देशन जारी गरेको हो । पार्टी र सरकारका बिरुद्ध भ्रम छर्ने गरी अनुशासन र पद्धतीविपरित बोल्ने, लेख्ने, पार्टी नीतिविपरित भेला, बैठक गर्ने काम बन्द गर्नुपर्दछ । पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रुपमा बिकास गर्नुपर्दछ । अनुशासनहीन काम गर्नेलाई कारवाहीको दायरामा ल्याउँनुपर्दछ ।’ अध्यक्षद्धय ओली र दाहालले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ ।

यस्तै निर्देशनमा पार्टी एकता प्रक्रियाका बाँकी काम १५ दिनभित्रमा सम्पन्न गर्न भनिएको छ । पार्टीको प्रकाशन, प्रचार र प्रशिक्षणलाई व्यवस्थित गर्नुपर्ने, संस्थागत निर्णय, बैधानिक व्यवस्था र अनुशासनलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ । बैठकले हाल विवादमा रहेको नेपालको भूभाग कालापानी लिपुलेक नेपालको भएको पनि बताएको छ ।

सीमा विवाद सल्टाउनका लागि आवश्यक गृहकार्य पनि पार्टी र सरकारले गरिरहेको बताइएको छ । अन्तरपार्टी निर्देशनमा हालै सम्पन्न उपनिर्वाचनका क्रममा धरान, भक्तपुर, भरतपुर लगायतका कतिपय स्थानको परिणामलाई गम्भीर समीक्षा र शिक्षाको विषय बनाउन जरुरी रहेको उल्लेख छ ।