‘लोकतन्त्रको रक्षाका लागि काँग्रेस बलियो हुनुपर्छ’ : रामचन्द्र पौडेल

होमल्याण्ड खबर

२०७६ पुष २८ गते, सोमबार १३:३५ मा प्रकाशित

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनु पर्ने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले लोकतन्त्रको रक्षाका लागि काँग्रेस बलियो हुनुपर्नेमा जोड दिए । ‘सुशासनलाई अगाडि बढाउन र संविधानको रक्षाका लागि काँग्रेस बलियो हुनुपर्छ’, उनले भने ।

वरिष्ठ नेता पौडेलले सरकारसँग असन्तुष्ट भएका जनतालाई काँग्रेसमा आकर्षण गर्नुपर्ने बताए । सरकारलाई भ्रष्टाचारमुक्त र काँग्रेसलाई विकृतिमुक्त बनाउनु पर्ने उनको भनाइ थियो । उनले पार्टीको १४ औँ महाधिवेशन विधिसम्मत रुपमा तोकिएको समयमा हुनुपर्ने उल्लेख गरे । पार्टीलाई सुधार गर्नका लागि आफू विधान कार्यान्वयनका पक्षमा उभिएको उनको भनाइ थियो । पार्टीका नेता प्रकाशमान सिंहले विधिविधान अनुसार चल्न नसक्दा काँग्रेस दिनानुदिन कमजोर बन्दै गएको बताए । “सिद्धान्त, आदर्श र संविधान निर्माणको नेतृत्व गरेको पार्टीको वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न सक्दैन”, उनले भने ।

पार्टीका केन्द्रीय सदस्य डा रामशरण महतले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य बोकेको सरकारले जनतालाई सुखी बनाउन नसकेको आरोप लगाए । नेता डा महतले विधान कार्यान्वयनमा पार्टी नेतृत्व नलागेको बताउँदै पार्टीलाई सुधारका लागि गतिलो नेतृत्वको खाँचो औँल्याए । पार्टीको चौधौँ महाधिवेशन निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो ।